काठमाडौंं ।
काठमाडौँको शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा टिपरको ठक्करबाट तीन जनाको ज्यान गुमेको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको ज्यान गुमेको प्रहरीले जानकारी दिएको हो ।
ज्यान गुमाउनेमा २१ वर्षका आकाश, सुमन र ४५ वर्षका हरिजनको रहेका प्रहरी प्रभाग साँखुले जनाएको छ । तीनै जनाको थप विवरण खुलेको छैन ।
साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर बिहीबार दिउँसो पौने ४ बजे अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए ।
नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको ज्यान गुमेको हो । द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।















