इजरायलमा केयरगिभर पठाउने प्रक्रिया अन्तिम चरणमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन लागिएको स्वास्थ्य सहायक (केयरगिभर) को प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अहिले करार सम्झौता गर्ने काम भइरहेको वैदेशिक रोजगार विभागले जनाएको हो ।

विभागको इजरायलरजापान शाखाका निर्देशक गिरिराज ज्ञवालीले हालसम्म करिब ९० जनाको इजरायलबाट भिसा लागेर आइसकेको बताए । त्यस्तै करिब २०० को हाराहारीमा करार सम्झौता पनि भएको छ ।

भिसा लागेर आइसकेकाहरूको हकमा श्रम स्वीकृति र हवाई टिकट काट्ने काम हुने उनको भनाइ छ । त्यसअघि इजरायलको वैदेशिक रोजगार विभाग ‘पीवा’ले हवाई टिकटको समय तोकेपछि काट्ने प्रक्रिया अगाडि बढाइनेछ ।

इजरायलले दुई जना नेपाली कामदारलाई केयरगिभरका रूपमा लैजाने प्रक्रिया अगाडि बढाएको थियो । जसमध्ये पहिलो चरणमा जान पाउने एक हजारमध्ये ९२३ जना स्वास्थ्य परीक्षणमा पास (मेडिकल फिट) भएका छन् ।

स्वास्थ्य परीक्षणमा पास भइसकेकाहरूको हकमा करार सम्झौता गर्ने काम धमाधम भइरहेको निर्देशक ज्ञवालीले बताए । स्वास्थ्य परीक्षण रिपोर्टको म्याद तीन महिनासम्म मान्य हुने गरेको छ । त्यसैले विभागले जति सक्दो चाँडो छनोटमा परेका कामदारहरू पठाउने प्रक्रिया अगाडि बढाएको हो ।

  • ३० माघ २०८१, बुधबार १५:३३ प्रकाशित