पोखरा ।
पोखरामा सञ्चालित ट्याक्सीहरुले अव कुनैपनि यात्रुलाई सेवा प्रदान गर्दा लग बुक भर्नुपर्ने भएको छ । यात्रुुको सुरक्षा तथा अपराधिक क्रियाकलाप न्युनिकरण गर्ने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा सुरक्षित तथा अभिलेख युक्त यात्रा विवरण (ट्याक्सी यात्रु लग बुक) कार्यक्रम सुरु गरिएको हो । वडा प्रहरी कार्यालय बैदामको आयाजना तथा पोखरेली ट्याक्सी सेवा प्रालि र ए वान ग्रेटर यातायात प्रालि पोखराको विशेष सहयोगमा उक्त कार्यक्रम बुधवार देखि सुरु गरिएको हो ।
उक्त कार्यक्रमको सुरुवात गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बावु ओलियाले पोखरामा शान्ति सुरक्षा र अपराध न्युनिकरण गर्नका लागि सम्पूर्ण एकजुट हुन आवश्यक रहेको बताए । आज सुरु भएको यात्रु अभिलेख राख्ने कामले यात्रुको विवरण महत्वपूर्ण हुने भएकाले कुनैपनि घटना घटेमा, कसैको सामान छुटेमा यात्रु वा चालकले दुब्र्यवहार गरेको खण्डमा त्यसको बारेमा जानकारी लिन सजिलो हुने बताउदै जनमानसमा ट्याक्सी प्रति नकारात्मक दृष्टीकोण भएकाले त्यसलाई समेत यात्रु लग बुकले सकारात्मकता तर्फ लैजाने बताए । ट्याक्सी सेवालाई अझ गुणस्तर बनाउन लग बुक कार्यक्रमले उल्लेख्य भुमिका खेलेर ट्याक्सीले ठग्छ भन्ने भाष्यलाई समेत यसले चिरफार गर्ने काम गर्ने उनको भनाई थियो ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले आजबाट सुरु भएको यात्रु लगबुक कार्यक्रमले ट्याक्सी चालक र यात्रुको यात्रालाई सुरक्षित र सुनिश्चित गर्ने एक अभिलेखीकरण भएको बताए । पोखरा भ्रमण वर्षको पूर्व सन्ध्यामा आयोजित यो कार्यक्रमले पर्यटकीय शहरमा ट्याक्सीको यात्रा सुरक्षित छ भन्ने सन्देश समेत प्रदान गरेको उनको भनाइ थियो ।
सो अवसरमा वोल्दै पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले सार्वजनिक यातायात क्षेत्र राज्यबाट हेपिएको क्षेत्र भएतापनि यात्रुहरुको सुरक्षा र स्वयं आफ्नो सुरक्षाका लागि पनि ट्याक्सी यात्रु लगबुक कार्यक्रमले उल्लेख्य भुमिका खेल्ने बताए । यात्रुहरुलाई प्रस्थान बिन्दुबाट गन्तब्य बिन्दुमा लैजान लगबुकले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उनको भनाइ थियो ।
त्यस्तै पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले पर्यटनको राजधानी पोखरामा प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पहिलो स्वागत गर्नेहरु ट्याक्सी चालक भएको बताउदै ट्याक्सी चालक लग बुकले पर्यटकलाई सुरक्षित गन्तब्यमा पु¥याउन उल्लेख्य भुमिका खेल्ने बताए । त्यसैगरी बेला बेलामा हुने अपराधिक क्रियाकलापमा समेत ट्याक्सी चालकहरुलाई प्रहरी प्रशासनले दुख दिने काम भइरहेको सन्दर्भमा यात्रु लगबुक कार्यक्रमले समेत प्रहरी प्रशासनलाई अनुसन्धानमा समेत सहयोग पुग्नुका साथै अनुसन्धानको क्रममा चालकहरुले झण्झट ब्यहोर्न नपर्ने उनको भनाइ थियो । पोखरेली ट्याक्सी सेवा प्रालिमा आवद्ध १५ सय ६१ ट्याक्सीमा यात्रु लगबुक कार्यक्रम लागुगर्ने प्रतिवद्धता ब्यक्त गर्दै निजी सवारीहरुले यात्रुओसार पसार गर्नेहरुलाई कानुनी दायरामा ल्याउन समेत प्रहरी प्रशासन समक्ष आग्रह गरे ।
त्यस्तै ए वान ग्रेटर यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलले सार्वजनिक यातायात प्रति राज्य निरीह रहेको र विभिन्न तहका सरकारहरु मौन बसेको कोही कसैले पनि सार्वजनिक यातायातको पक्षमा नवोलिरहेको सन्दर्भमा ट्याक्सी ब्यवसायीहरुले यात्रुहरुलाई लक्षित गरि यात्रु लग बुक कार्यक्रम ल्याइएको बताए । सम्बन्धित निकायले अझैपनि कानुन बिपरित सञ्चालन भइरहेको विभिन्न एप्स मार्फत सञ्चालित सवारी साधन र रातो प्लेटका सवारी साधनले यात्रु बोकेकै कारण सार्वजनिक यातायात सञ्चालन गर्नेहरुको रोजीरोटीमा समेत समस्या उत्पन्न भएको बताए ।
ट्याक्सी लगबुक कार्यक्रमले कोहीकसैले ट्याक्सीमा यात्रु बोक्दै गर्दा यात्रुहरुप्रति शंका लागेमा लग बुकमा रहेको प्रहरीका हटलाईनमा सम्पर्क गर्न आग्रह गर्दै ट्याक्सीमा यात्रा गरेर ठग्नेहरुलाई समेत कानुनी दायरामा ल्याउन लकबुक कार्यक्रमले सहजता प्रदान गर्ने बताए ।त्यस्तै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले पोखरामा रहेको तीनवटै प्रालिमा आवद्ध ट्याक्सीलाई ट्याक्सी यात्रु लगबुक कार्यक्रममा समावेश गर्ने बताउदै यस कार्यक्रमले सुरक्षित समाजको परिकल्पना गर्ने कार्यक्रममा सहयोग पुग्ने बताए ।
लगबुक कार्यक्रमले कसैको सामान हराएमा भेटाउन सजिलो हुने, दुर्घटना न्युनीकरणमा सहजीकरण, प्रहरी सिआरभीहरुको नम्बर भएकाले कुनैपनि घटना भएमा प्रहरीमा जानकारी गराउन समेत सहज हुने निरौलाले बताए । पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुु बहादुर भट्टराइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक सेवा केन्द्र कास्कीका वरिष्ठ उपाध्यक्ष मनपति भण्डारी, वरिष्ठ पत्रकार श्याम कुँवर लगायतले बोलेका थिए ।















