काठमाडौं ।
पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै आमन्त्रित टिम थन्डरबोल्टस् क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३-१ ले स्तब्ध पारेको हो ।
खेलको अग्रता भने संकटाले लिएको थियो । तर अग्रतालाई कायम गर्न संकटा पहिलो खेलबाटै फर्किनुपरेको छ । खेलको १७औं मिनेटमा संकटाका मनिष पौडेलले टिमलाई अग्रता दिलाएका थिए । उनले विपक्षीको डि बक्स भित्रबाट गोल गरेका हुन् । उनले पासाङ लामाको पास सदुपयोग गर्दै उत्कृष्ट फिनिस गरे ।
खेलको ३४औं मिनेटमा थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काएको थियो । थन्डरले पाएको पेनाल्टी मौका टिमका टालाले पेनाल्टीमा सहजै गोलमा परिणत गरेका हुन् ।
पहिलो पटक आहारारा पोखरा गोल्डकपमा खेल्न आएको थन्डरले खेलको ७६औं मिनेटसम्म खेल बराबरीमै राखेको थियो । ७७औं मिनेटमा थन्डरका करन राईले व्यक्तिगत एक गोल गर्दै खेललाई २-१ को सहज स्थितिमा ल्याए ।
दोस्रो गोलपछि सहज स्थितिमा फर्किएको थन्डरका आदर्श तामाङले खेलको ८४ औं मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरेका हुन् ।















