गुल्मी ।
गुल्मी जिल्लाको मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै दुर्घटनाको जोखिम बढेको छ ।
जिल्ला सदरमुकाम तम्घास भित्रिने सडकको तम्घास–छल्दी खण्डका विभिन्न जोखि घुम्तीमै सडक भत्किएको छ । कालोपत्रे सडक भत्किएको लामो समयसम्म पनि मर्मतमा गरिएको छैन ।
यो सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर, अहिले विभिन्न ठाउँमा सडक भत्किएर जोखिम बढेको छ । कालोपत्रे भएको ५ वर्ष पनि नबित्दै भत्किएको हो ।
समयमै सडक हस्तान्तरण र मर्मत नहुँदा सडक जीर्ण बन्दै गएको छ । कालोपत्रे सडकको जोखिमपूर्ण ठाउँमै भत्किन थालेसँगै राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधनहरुले सास्ती खेप्दै आएका छन् ।
बिरामीहरु लिएर रातको समय हिँड्दा निकै जोखिम बढ्दै गएको सवारी चालक प्रदीप जिसीले बताए । उनले मुख्य राजमार्गका यस्तो अवस्था भएको लामो समय बित्दा समेतसम्बन्धित निकायको ध्यान नजानु दुःखद् पक्ष रहेको बताए । सडक जीर्ण बन्दै जान थालेपछि साना सवारी सधानहरुलाई समस्या पर्दै गएको अटो चालक केशव कुँवरले बताए ।
राजमार्गमा यात्रा गर्दा जोखिम ठाउँमा ठूला सवारी सधानहरुले पेलेर आउदा निकै जोखिम मोल्नु परेको कुँवरले बताए । राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो । तर, सडक निमार्णको जिम्मा लिएको कालिका प्यासिफिक कम्पनीले ८ किलोमिटर सडक सम्पन्न गरेर नदिएकाले सो सडक हस्तान्तरण हुन नसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले जनाएको छ । कार्यालयले सडकमा ट्राफिक संकेत लगायत अन्य काम गरेपनि मुख्य मर्मतको काम गरेको छैन् ।
निर्माण व्यवसायीले हस्तातरण नगरेर समस्या भएको मात्रै जवाफ कार्यालयले दिने गरेको छ । कार्यालय र निर्माण व्यवसायी दुवैै पक्षबीच मुद्दा चलिरहेकाले मर्मत गर्न समस्या पर्दै गएको छ ।