पोखरा ।
देशकै पर्यटकीय राजधानी घोषित सहर पोखरामा रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय विगत डेढ वर्षदेखि प्रमुख विहिन छ । निर्देशक काशीराज भण्डारीले २०८० को असारमा राजिनामा दिएपछि निमित्त प्रमुखको भरमा कार्यालय चलेको थियो ।
निमित्त प्रमुख नविन पोखरेल काठमाडौं सरुवा भएपछि विगत ६ महिना देखि लेखा अधिकृतको भरमा कार्यालय चलेको छ । जसका कारण समान्य कार्यक्रम स्वीकृत देखि जुनसुकै निर्णय गर्नपनि केन्द्रमा कागेजात पठाउनुपर्ने बाध्यतामा आफू रहेको लेखा अधिकृत सागर श्रेष्ठले बताए । ‘निर्देशक पद लामो समयदेखि खाली छ । निमित्त निर्देशक सर (नवीन पोखरेल) पनि सरुवा भएपछि सामान्य कामका लागि पनि केन्द्र नै डकुमेण्ट फर्वाड गर्नुको विकल्प छैन’ उनले भने ।
पर्यटन बोर्ड स्रोतका अनुसार पर्यटन बोर्ड पोखरा कार्यालयका निर्देशक काशीराज भण्डारीले राजिनामा दिएलगत्तै केन्द्रले निर्देशक हिक्मत सिंह ऐरलाई पोखरा पठाएको थियो । तर उनले पोखरा हाँजिर हुन नै मानेनन् । पर्यटन बोर्ड गण्डकी कार्यालयमा एक जना निर्देशक, एकजना प्रबन्धक र दुई जना अधिकृत (लेखा, प्रशासन/कार्यक्रम) को दरबन्दी छ । प्रशासन अधिकृत कुन्दन मिश्रको समेत काठमाडौं सरुवा भएपछि उनको ठाउँ समेत खाली छ । उनको ठाउँमा युवराज गुरुङलाई पठाइएको भएपनि उनी हाजिर हुन अझै दुइ हप्ता लाग्ने बताइएको छ । अहिले लेखा अधिकृत सागर श्रेष्ठले मात्र कार्यालयको नेतृत्व गरेका छन् ।
पर्यटकीय राजधानी सहर पोखरा गण्डकी प्रदेशको समेत राजधानी हो । गण्डकीका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयमा कर्मचारी नहुँदा कार्यालयले सम्पादन गर्नुपर्ने नियमित काम समेत रोकिएका छन् । विभिन्न खालका मेला महोत्सव भइरहने पोखरामा विभिन्न पर्यटकीय गतिविधि भइरहन्छन् ।
अधिकांश मेला महोत्सवमा पर्यटन बोर्ड पर्वधकको रुपमा रहन्छ । तर, कर्मचारी विहिन जस्तै बनेको पर्यटन बोर्ड गण्डकीमा सानोभन्दा सानो कामका लागि सम्झौता गर्न केन्द्रकै मुख ताक्नुपर्दा पर्यटन व्यवसायी समेत निरास छन् । पर्यटन बोर्डको प्राथमिकतामा कहिल्यैपनि पोखरा नपरेको नाट्टा पोखराका पूर्वअध्यक्ष समेत रहेका पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । गण्डकीमा न्युन बजेट दिने र दिएको बजेट पनि अधिकांस पूर्वाधारका लागि छुट्याइनुले बोर्डको मर्म अनुरुप काम नै नहुने उनले बताए । बोर्डले विगतमा राखेका प्रर्वद्धनात्मक कार्यक्रम समेत काटेको उनले सुनाए ।
विगतमा जाउँ है पोखरा, चलिए पोखरा, पोखरा मार्ट लगायतका प्रर्वद्धनात्मक कार्यक्रमका लागि पर्यटकीय संघसंस्थालाई तोकेरै बजेट राखिने गरेकामा अहिले गोलमटोलढंगले खेल्ने ठाउँ राखिएको भन्दै उनले रोष प्रकट गरे । ‘पर्यटन बोर्डले कहिल्यैपनि पोखरालाई प्राथमिकतामा राखेन । निजीक्षेत्रसंग सहकार्य गरेर देशभित्र र बाहिर पर्यटन प्रर्वद्धन गर्ने काम बोर्डको हो । तर, अधिकांस बजेट पूर्वाधारमा हालिने गरेको छ । प्रर्वद्धनका लागि राखिएको बजेटमा पनि गोलमटोल भाषा प्रयोग गरिएको छ ।’ उनले भने, ‘पूर्वाधार हेर्ने संघीय मन्त्रालय छ । प्रदेश सरकार छ । स्थानीय सरकार छ । भौतिक पूर्वाधार निर्माण गर्ने काम उनीहरुको भएपनि पर्यटन बोर्ड भौतिक निर्माणमा नै रमाएको छ ।’
नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासु त्रिपाठीले निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरुले अपनत्व नलिँदाको समस्या पोखराले भोग्नु परेको टिप्पणी गरे । उनले ‘पोखरालाई नै आधार बनाएर पेशा व्यवसाय गरेका व्यवसायीको पर्यटन बोर्डमा प्रतिनिधित्व भएको भए यस्तो अवस्था आउने थिएन’ भनेका छन् । उनले देशको पर्यटकीय राजधानी घोषित पोखरामा झण्डै कर्मचारी विहिनताको अवस्था आउँदा राजनीतिक नेतृत्वको पनि ध्यानाकर्षण हुनुपर्ने धारणा राखे । निजी क्षेत्र आफ्नै काममा व्यस्त हुने भएकाले व्यवसाय गर्नेहरुले दबाब सिर्जना गर्दा अप्ठ्यारो हुनेगरेको अनुभव पनि उनले सुनाए ।
पर्यटकीय संघ संस्थाको नेतृत्व गर्नेले सबैलाई विश्वासमा लिएर दबाब दिन नसकेको हो की भनेजस्तो पनि देखिएको उनले महसुस् गरेका छन् । ‘व्यवसायीहरु आफ्नो पेशा व्यवसायमै केन्द्रित हुनुपर्छ । व्यवसायीले कर्मचारीलाई दबाब दिँदा उल्टो असर समेत पर्न सक्छ । गण्डकी प्रदेश नै हेर्ने पर्यटन बोर्डको कार्यालयमा कर्मचारी विहिनताको अवस्था आउँदा यहाँ कसरी काम गर्ने भनेर राजनीतिक नेतृत्वले पनि सोचेर दबाब दिनुपर्ने हो । संघसंस्थाको नेतृत्व गर्नेहरुले पनि यहाँको पर्यटन क्षेत्रको विकास र व्यवसायिक प्रर्वद्धनमा काम गर्छु भनेकाले उहाँहरुपनि सक्रियतापूर्वक लाग्नुपर्ने हो । तर कता—कता सुस्ताए जस्तो देख्छु’ उनले भने ।
पोखरामा छिट्टै कर्मचारी पठाउँछौं : पर्यटन बोर्ड
नेपाल पर्यटन बोर्डले केन्द्रमा नै कर्मचारी अभाव हुँदा त्यसको प्रभाव पोखरामा परेको बताएको छ । पर्यटन बोर्डका निर्देशक एवं सहप्रवक्ता मणिराज लामिछानेले केन्द्रमा नै कर्मचारीको अभाव हुँदा त्यसको प्रभाव पोखरामा पनि परेको बताए । उनले छिट्टै पोखराका लागि निर्देशकसहित कर्मचारीको व्यवस्थापन गर्ने तयारीमा बोर्ड रहेको जानकारी दिए । ‘पोखरा प्राथमिकतामा नपरेको भन्न मिल्दैन । पर्यटन बोर्डमा कर्मचारीको अभाव रहेकाले त्यसको प्रभाव पोखरामा पनि परेको हो । छिट्टै हामी सबै कर्मचारी फूलफिल गछौं’ उनले भने, ‘अब कर्मचारी भर्नाको समेत तयारी भइरहेको छ ।
गण्डकी प्रदेशमा पर्यटकीय पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि झण्डै १४ करोड बजेट
चालु आर्थिक वर्षका लागि पर्यटन बोर्डले गण्डकी प्रदेशका लागि १३ करोड ७७ लाख ३० हजार रुपैयाँ छुट्याएको छ । कार्यालय सञ्चालन बाहेक भौतिक पूवाधार निर्माण र प्रर्वद्धनात्मक कार्यक्रमका लागि छुट्याएको बजेट कार्यान्वयनमा लैजाना योजना सम्झौता गरेर कार्यान्वयनमा जानुपर्ने योजनाको प्रक्रियालाई अगाडि बढाउन सकस देखिएको छ । यद्यपी आएका योजना कार्यान्वयनका लागि प्राप्त प्रस्तावलाई आफ्नो ठाउँबाट केन्द्रमा सहजिकरण गर्दै अगाडि बढाएको लेखा अधिकृत सागर श्रेष्ठले बताए ।
पर्यटन बोर्डका सहप्रवक्ता मणिराज लामिछानेले केही ढिला भएपनि योजना कार्यान्वयनका लागि काम भइरहेको बताए । ‘कर्मचारी नै अभाव भएपछि कार्यान्वयनमा केही अप्ठ्यारा स्वभाविक रुपमा छन् । तरपनि हामी कामलाई अगाडि बढाउँछौं । योजना कार्यान्वयनमा नै समस्या पर्न दिँदैनौं’ उनले भने ।