बागलुङ।
यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए ।
एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ ।
जङ्गली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए । सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपती अधिकारीका अनुसार अमेरिकाका एक सिकारी राजश्व बुझाएर समेत नाउरको सिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै सिकारीले नाउर मार्न असफल भएका छन् ।
यस्तै विदेशी सिकारीले तीन वटा झारल सिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ । सात बनेलको सिकार अनुमति पाएका सिकारीले सिकारनै नगरेको आरक्षको भनाइ छ ।
ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ ।