पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा विद्युतीय गाडी आयात गरी बजार बिस्तार गरिरहेको सिजी मोटर्स र टिटि ग्लोबलले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीलाई विद्युतिय सवारी चार्ज गर्ने फास्ट चार्जर हस्तान्तरण गरेको छ ।

सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिमा आयोजित कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन् । कम्पनीको कार्यालय परिसर फिर्केमा चार्जिङ स्टेसन स्थापना गरिने बताइएको छ ।

उक्त चार्जर मार्फत विद्युतिय सवारी ३० मिनेट भित्रमा फुल चार्ज हुने भएकाले चार्जिङ स्टेसन विस्तार भएपछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास गरिएको छ । सिजी मोटर्सले देशभर २ सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको छ । अबको एक वर्षभित्र थप २ सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जानकारी दिए ।

टिटि ग्लोबलले केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्री वितरण गर्दै आइरहेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताए । आगामी दिनमा सिजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको उनी बताउँछन् । आफुहरु संग हायस गाडीहरु रहेको र त्यसलाई उचित मुल्य दिएको खण्डमा सिजी मोटर्स संग सहकार्य गरेर विद्युतिय सवारी सञ्चालन गर्न आफुहरु तत्पर रहेको केसीको भनाइ रहेको गियो ।

चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिबद्ध रहेको टिटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले बताए । बिक्री पछिको सेवा प्राथमिकतामा रहेको बताउदै पराजुलीले पृथ्वीराजमार्ग सञ्चालक कम्पनी द्धारा सञ्चालित पुराना हायस गाडीहरुको अवस्था हेरेर आफुहरुले सहकार्य गरी विद्युतिय सवारी सञ्चालनमा सहकार्य गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रवन्ध निर्देशक ज्ञानबहादुर केसीले व्यवसायीहरूको हितमा कम्पनी सक्रिय भएर लागिरहेको बताए ।

  • १८ मंसिर २०८१, मंगलवार १७:२२ प्रकाशित