बीपी राजमार्ग एक वर्षभित्र निर्माण सक्ने लक्ष्य

केन्द्रभाग मिडिया

बाढीले भत्काएको बिपी राजमार्ग

काठमाडौँ ।

बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि सरकारले थालेको अध्ययन सकिएको छ । अध्ययन सकिएसँगै अन्तिम प्रतिवेदन दुई दिनभित्रमा तयार पार्ने र निर्माण प्रक्रिया अघि बढाउने भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशको भनाइ छ ।

‘बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि अध्ययन लगभग सकिइसकेको छ । कहाँकहाँ के–के गर्ने भनेर डिजाइन तयार भइसकेको छ,’ योगेशले भने, ‘भोलि रिभिजन गरेर टुङ्ग्याउँछौँ । पर्सि फाइनल प्रतिवेदन तयार पारी मन्त्रालयमा बुझाउँछौँ । त्यसपछि सडक निर्माण अघि बढ्छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अध्ययन सकिएसँगै निर्माण कार्य अघि बढाउने बताए । एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी निर्माणमा जुट्ने शर्माको भनाइ छ ।

‘आउँदो मङ्सिरसम्म निर्माण सक्ने गरी लाग्छौँ । बीपी राजमार्ग ठ्याक्कै पहिलाको जस्तो बनाउन त सकिँदैन । किनभने ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । यो सडक पुनर्निर्माणका लागि भौगर्भिक र हाइड्रोलोजिक अध्ययन गराएका छौँ । यो अध्ययनको रिपोर्ट आएपछि के–कसरी निर्माण गर्ने थाहा हुन्छ ।’

क्षति भएको बीपी राजमार्गमध्ये चौकी डाँडा खण्डमा तत्काल मर्मत गर्नुपर्ने देखिएको र केही दिनभित्रै यसको छुट्टै अध्ययन गरी मर्मत गरिहाल्ने शर्माले बताए ।

असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले बीपी राजमार्गको कालढुङ्गा चौकीडाँडा सडक खण्डको करिब ८ किलोमिटर सडक ध्वस्त भएको थियो ।

  • १८ मंसिर २०८१, मंगलवार १५:१० प्रकाशित