दमौली ।
तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि विस्तृत अध्ययन गरिएको छ । म्याग्दे गाउँपालिकाका प्राविधिकहरूले मङ्सिर ९ देखि १२ गतेसम्म उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेका हुन् ।
यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित अध्ययन गरी सुधारका योजनासहितको प्रतिवेदन तयार गरिएको निलकण्ठेश्वर महादेव सिद्धेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र आचार्यले बताए ।
पर्यटकीय सम्भावना भए पनि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेपछि प्रवर्द्धनका लागि पहल गरिएको उनले बताए । यहाँको प्रचारप्रसार तथा पर्यटकीय सम्भावनालाई उजागर गरी धार्मिक गन्तव्यस्थल बनाउने उद्देश्यले स्थानीयवासी जुटेका हुन् ।
धेरै वर्ष पहिलादेखि यहाँ रहेको यो गुफाको आवश्यक संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा परेको बताउँदै आचार्यले यसको संरक्षण गरेर पर्यटकीय गतिविधि विस्तारमा जोड दिइएको उल्लेख गरे।
सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि स्थानीय सरकारले पनि चासो देखाएको छ । यस ठाउँलाई म्याग्दे गाउँपालिकाको पर्यटकीयस्थलका रूपमा लिँदै आगामी दिनमा यसको व्यवस्थापनमा पालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
उनले भने, ‘गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीयस्थलको प्रचारप्रसार, प्रवर्द्धन, पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ । यहाँको विकासका लागि पालिकाले निरन्तर सहयोग गर्नेछ ।’















