दक्ष जनशक्ति उत्पादनमा होटल संघ र इन्स्योर

केन्द्रभाग मिडिया

पोखरा ।

होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरिएको छ ।

होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाले उक्त कार्यक्रम आयोजना गरेका हुन् । कमाउँदै सिक्दै भन्ने मान्यता अनुरुप इन्स्योर अन्तर्गत संचालित औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) संचालनको क्रममा आइपर्ने समस्यालाई कसरी निराकरण गरेर लैजान सकिन्छ भन्ने बारेमा कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा संघ अन्तर्गतका होटलका संचालक, व्यवस्थापक र मानव संशाधन विभागका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

स्वीस सरकारको आर्थिक तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गण्डकी प्रदेश सरकारको समाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयले इन्स्योर परियोजना मार्फत् प्रि डिप्लोमा तहको २४ महिने अप्रेन्टिसिप कार्यक्रम संचालन गर्दै आएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को प्रिडिप्लोमा तह बमोजिम स्वीकृत पाठ्यक्रमको आधारमा २४ महिना अबधि तोकिएको हो । उक्त अवधि मध्ये साढे तीन महिना  शिक्षालयमा र साढे १९ महिना औद्योगिक प्रतिष्ठानमा विद्यार्थीले बिताउँछन् । एक महिना पुनः शिक्षालयमा नै फर्कने प्रावधान रहेको छ ।

कार्यक्रम अन्तर्गत सूचना प्रविधि, इलेक्ट्रिकल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, अटोमोवाइल, होटल म्यानेजमेण्ट, भवन निर्माण, चिया प्रविधि र बच्चा स्याहार जस्ता आठ क्षेत्र समेटिएको इन्स्योरका प्राइभेट सेक्टर इन्गेजमेण्ट विज्ञ लोकराज जोशीले प्रष्ट पारे । होटल क्षेत्रको जनशक्तिले क्षमता अभिवृद्धि गरोस् र व्यवहारिक ज्ञान हासिल गर्न आउने प्रशिक्षार्थीलाई होटल क्षेत्रमा सौहार्द रुपमा स्वागत होस् भन्ने चाहना इन्स्योरको रहेको उनले प्रष्ट्याए । प्रशिक्षार्थीले विचमै होटल छाडेर हिंडने समस्या समाधानमा ध्यान दिनुपर्ने चर्चा सो अवसरमा गरिएको थियो ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणाली मार्फत् नेपालका युवा, महिला तथा पुरुषहरुलाई सामाजिक तथा आर्थिक लाभ प्रदान गर्ने उद्धेश्य २०७८ बाट संचालित इन्स्योर परियोजनाले लिएको छ । रोजगारी, श्रम बजारको आबश्यकतालाई सम्वोधन गर्ने र उद्योग तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति परिपूर्ति गर्ने उद्धेशय पनि रहेका छन् । अप्रेन्टिसिप कार्यक्रम प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै स्थानमा सिकाइने (टिभेट) प्रकृतिको हो ।

कमाउँदै सिक्दै भन्ने मान्यता अनुशरण गर्दै सैदान्तिक र व्यवहारिक दुबै रुपमा अगाडि बढ्ने कार्यक्रमले क्षमता अभिवृद्धिमा पनि जोड दिएको छ । सरकारको तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत पारिश्रमिक, पोशाक खर्च, दैनिक रु १०० यातायात खर्च, प्रि डिप्लोमा तहको प्रमाणत्र लगायतका सुविधा प्रशिक्षार्थीका लागि रहेका छन् ।

कार्यक्रममा बोल्दै होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटल क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति आपूर्ति गर्न केही हदसम्म भए पनि कार्यक्रम सहयोगी हुने भनाई राखे । सीप सिकेको जनशक्ति बैदेशिक रोजगारीमा जाँदा पर्यटन क्षेत्रले कठिनाई भोग्नुपरेको उनले बताए । हान केन्द्रका कोषाध्यक्ष युवराज श्रेष्ठले दक्ष जनशक्तिको अभाव पर्यटन क्षेत्रका लागि ठूलो चुनौतिको रुपमा रहेको भन्दै अप्रेन्टिसिप कार्यक्रम त्यस्तो अभाव परिपूर्तिमा सहयोगी हुने भनाई राखे ।

होटल संघ पोखरा नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले उपस्थित सबैलाई धन्यवाद दिंदै अप्रेन्टिसिप कार्यक्रमको सराहना गरे । सीटीईभीटी अन्तर्गतको पोखरा प्राविधि विद्यालयका प्राचार्य हर्कलाल श्रेष्ठ र धौलागिरी प्राविधिक शिक्षालयका प्राचार्य खड्गबहादुर सुब्बाले पनि छलफल कार्यक्रममा भनाई राखेका थिए ।

  • १२ मंसिर २०८१, बुधबार १८:२१ प्रकाशित