पर्यटकको नयाँ गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान

केन्द्रभाग मिडिया

लमजुङ ।

लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित करपुरेश्वर पार्क पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ । यहाँ बेँसीसहर नगरपालिकाले उद्यान निर्माण गरेर व्यवस्थित बनाएसँगै यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो ।

यहाँ दैनिक दुई सयदेखि तीन सयजना बढी आन्तरिक पर्यटक आउने गरेका छन् । शुक्रबार, शनिबार र बिदाको समयमा छ, सात सय जना भन्दाबढी पर्यटक आउने गरेको स्थानीयवासीले बताएका छन् ।

बजार नजिकै घुम्न तथा समय बिताउनका लागि पर्यटकीयस्थलका रुपमा नगरपालिकाले सो उद्यान निर्माण गरेपछि पर्यटक आकर्षित हुन थालेका हुन् । बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नगरभित्र एउटा पनि उद्यान नहुँदा घुम्ने, हेर्ने, तथा मनोरञ्जन गर्ने कुनै ठाउँ नभएकाले उद्यान निर्माण गरी व्यवस्थित बनाएसँगै पर्यटकको चाप बढिरहेको बताए ।

आठ रोपनी क्षेक्रफलमा चार बस्ने ठाउँ, एउटा पानीको फोहरा संरचना, पिक्नीकको लागि सेड, बालबालिका खेल्न उद्मान, शौचायलय, पार्कभित्र हिँड्ने सिँढी लगायतको संरचना निर्माण भएको नगरप्रमुख अर्यालको भनाइ छ । उनका अनुसार यस उद्यान टिकट व्यवस्था लागू गरी पर्यटक तथा स्थानीयबाट शुल्क उठाउने तयारी भएको छ । विसं २०७५ चैत १२ गतेबाट निर्माणकार्य थालनी भएको उक्त पार्कमा हालसम्म रु ५०÷६० लाख बढी लगानी भइसकेको नगरपालिकाले जनाएको छ ।

यस उद्यानमा आएका पर्यटक सन्तोष थापाले भने, ‘बजार नजिकै उद्यान बनेपछि घुम्न रमाइलो हुने गरेको छ । आफू परिवारसँग बेला बेलामा आउने पार्कमा घुम्दा मनोरञ्जन प्राप्त हुने गरेको उनको भनाइ छ ।’ त्यस्तै, अर्का पर्यटक सोविता परियारले पार्क घुम्दै मनोरञ्जन हुने गरेको र समय बिताउन पनि सहज हुने भएकाले यहाँ साथीहरुसँग आएको बताए ।

त्यस्तै, स्थानीय सिर्जना श्रेष्ठले भने, ‘यहाँ आउने पर्यटक उद्यानमा भिडियो बनाउने, फोटो खिच्ने, सेल्फि खिच्ने, टिकटक बनाउँदै रमाउने गर्दछन् ।’ साथै यहाँ विभिन्न ठाउँबाट पिकनिक खानालाई आउने गरेको उनको भनाइ छ । साथै नाच गानसमेत हुने हुँदा पर्यटकलाई थप मनोरञ्जन प्राप्त गर्ने गरेको छ ।

  • १२ मंसिर २०८१, बुधबार १५:५२ प्रकाशित