पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका तत्कालिन व्यावसायिक साझेदार छविलाल जोशीलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्की लगिएको छ ।
गत ६ असोजदेखि हिरासतमा रहेका जोशी र २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरिएको थियो । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदाका कारण बीचको अवधिमा उनलाई अदालत लगिएको थिएन ।
पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेको बयान लिने क्रम नसकिएकाले आज थप म्यादका लागि अदालन उपस्थित गराइने कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । पूर्वगृहमन्त्री लामिछानेको बयान सकिएको भनि सञ्चार माध्यममा आएका समाचार सहि नभएको उनले जिकिर गरे । ‘बाहिर उहाँ (रवि लामिछाने) को बयान सकियो भनेर आएका समाचार सत्य होइनन्,’ उनले भने, ‘उनले भने धेरै प्रश्नको जवाफ लिन नै बाँकी छ । हामी थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत उपस्थित गराउने छौं ।’
पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा हिरासतमा रहेका लामिछाने र जोशीसँगै लीला पछाईं र रामबहादुर खनाललाई एकसाथ म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ ।
पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप अनुसन्धानका लागि रुपन्देही प्रहरीले समेत जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र पठाएकाले उनलाई रुपन्देही लगिनेछ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि लामिछानेलाई रुपन्देही लगिने भएको हो । यसअघि जोशीलाई रुपन्देही लगेर पोखरा ल्याएको थियो ।
साथै सहकारी ठगीमा पक्राउ परेका लिला पछाईंलाई पनि अदालत उपस्थित गराइएको छ।