गगन नेवाः खलको लेखनाथस्तरीय न्हूँदया भिन्तुना र्‍याली

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल संवत् ११४५ का अवसरमा गगन नेवाः खल पोखरा महानगरपालिका वडा नं ३२ को आयोजनामा आज लेखनास्तरीय न्हूँदया भिन्तुना र्‍यालीको आयोजना गरिएको छ ।
पोखरा–३२ स्थित प्राचीन तीर्थस्थल कालिका मन्दिरदेखि तल्लो गगनगौंडा सम्म र्‍याली आयोजना गरिएको गगन नेवाः खलका सचिव शरणकुमार प्रधानले जानकारी दिए । नेपाल संवत्को महिमा र गरिमालाई नयाँ पुस्तामाझ पुर्‍याउदै नेवारी संस्कार र संस्कृतिको प्रवद्र्धन समेतको उद्देश्य राखी र्‍याली आयोजना गरिएको उनले बताए ।
र्‍यालीमा जनप्रतिनिधि राजनीतिकर्मी, शिक्षासेवी, विभिन्न सेवा पेशा र व्यवसायमा आवद्ध व्यक्ति एवम् सर्वसाधारणको उपस्थिति थियो । र्‍याली पछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले हाम्रा संस्कार र संस्कृतिको जगेर्नाका लागि सामुहिक प्रयास आवश्यक भएको बताए ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेपाल संवत् नेपालको राष्ट्रिय संवत्् भएको बताए । हामीले आफ्ना भाषा र संस्कृतिको संरक्षण गर्नुुपर्नेमा जोड दिदै उहाँले कोही कसैले संस्कार र संस्कृति विर्सन नहुनेमा उनको जोड रहेको थियो । पछिल्ला समयमा हाम्रा मौलिक संस्कृति तथा संस्कार हराउँदै गएकामा उनले चिन्ता ब्यक्त गरे ।
गगन नेवाः खलका अध्यक्ष लिलबहादुर श्रेष्ठको अध्यक्षता एवम् सचिव शरणकुुमार प्रधानले सञ्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लामिछाने, गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उत्तममान बज्राचार्य, मिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्य, पूर्व अध्यक्ष मेनुुका श्रेष्ठ लगायतले नेपाल संवत्को महत्वबारे आ आफ्ना धारणा राखेका थिए ।
  • १८ कार्तिक २०८१, आईतवार १०:०९ प्रकाशित