मौलिक संस्कृतिको जगेर्नाका लागि भरतपोखरीमा कार्तिक १५ गते खुल्ला देउसीभैलो

केन्द्रभाग मिडिया

पोखरा ।

भरतपोखरी विकास मञ्चको आयोजनामा नेपालीहरूको महान चाड दिपावलीको अवसर पारी यही कात्तिक १५ गते खुल्ला देउसीभैलो तथा एकल नृत्य प्रतियोगिता गरिने भएको छ ।

दिपावलीका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।मञ्चले यस पटक सातौं संस्करणको प्रतियोगिता आयोजना गरेको उनले जानकारी दिए ।

प्रतियोगितामा देउसीभैलोतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । देउसीभैलो प्रतियोगितामा सहभागिताका लागि एक हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै एकल नृत्यतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष बरालले जानकारी दिए । कार्यक्रमकै अवसरमा कला साहित्य लगायतका क्षेत्रमा संलग्न व्यक्तित्वलाई पनि सम्मान गरिने उनले जानकारी दिए । प्रतियोगितामा इच्छुक समूह एवम् व्यक्तिले कात्तिक १४ गतेसम्म नाम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ ।

कार्यक्रम सञ्चालनका लागि करिब दुई लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताउँदै अध्यक्ष बरालले विभिन्न सरकारी निकाय, सामाजिक संघ संस्था एवम् सहयोगदाताबाट उक्त स्रोत व्यवस्थापन गरिने जानकारी दिए ।

  • १२ कार्तिक २०८१, सोमबार १३:४६ प्रकाशित