रवि लामिछानेको रिहाइ गर्न सरकारसँग रास्वपाको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई रिहाइको माग गरेको छ।

शनिवार बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको प्रवक्ता मनिष झाले बताए ।

बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने राख्ने निर्णय पनि गरेको उनले बताए।

बैठकले आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गरेको छ।

पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि सूचारु गर्ने पनि निर्णय गरेको छ। यस्तै, स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन बैठकले दिएको उनले बताए।

  • ११ कार्तिक २०८१, आईतवार ११:०७ प्रकाशित