संस्कृतिभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने प्रवृत्ति गलत : प्रम ओली

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र सोमबार बुझ्दै उनले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन् ।

इन्द्रजात्राजस्ता पर्वहरूमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवाधन तथा विशेष धुनहरू रहेको र यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा गरे ।

सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवत्लाई सरकारी कामकाजको प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषदबाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गरे । उनले राष्ट्र बैँकबाट निष्कासन हुने नोटमा नेपाल संवत्को पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरूमा नेपाल संवत्को नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गरे ।

  • ५ कार्तिक २०८१, सोमबार १६:३० प्रकाशित