दशमीको दिन आज पोखरामा निःशुल्क बस सेवा सुरु, यी रुटमा चल्नेछन् बस

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आज विजया दशमीको दिन टीका तथा आर्शिवाद लिन आफन्तकोमा जाने सर्वसाधारण यात्रुका लागि निःशुल्क बस सेवा सुरु भएको छ । सेवाको विहान कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् ।

सेवा शुभारम्भ गर्दै उनले निःशुल्क सेवा सञ्चालन गरेकोमा यातायात व्यवसायी कम्पनीहरु प्रति आभार प्रकट गरे । उनले घोषणा गरिए बमोजिम इमान्दारिता पूर्वक कार्यान्वयन गर्न आग्रह आग्रह गरे ।

विहान सात बजेबाट सुरु सेवा साँझा ४ बजेसम्म चल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले जानकारी दिइन् । टीकाको दिन सर्वसाधारण यात्रुका लागि व्यवसायी, महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीले सहकार्य गरेर सेवा प्रारम्भ गरेका हुन् ।

साँझ ४ बजेसम्म सात वटा रुटमा १८ वटा सावारीसाधन बाट सेवा सुरु भएको हो । ट्राफिक प्रमुख पाण्डेका अनुसार पोखरा महानगरपालिकाले बसका चालक सहचालकका लागि सो दिनको भत्ता उपलब्ध गराउनेछ । जिल्ला प्रशासनले सहजिकरण गर्ने र व्यवसायीहरुले आफ्ना गाडी निःशुल्क रुपमा सञ्चालन गरेका हुन् । निशुल्क बस सेवा सञ्चालका लागि पोखरेली ट्याक्सी सेवा प्रालिले १५० लिटर डिजेल उपलब्ध गराएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले तीन वटा बस मार्फत फेदी देखि हेम्जा, हरिचोक हुँदै पृथ्वी चोकसम्म सेवा दिनेछ । स्थानीय यातायात कम्पनीले कोत्रेदखि पृथ्वीचोकबाट चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म सेवा दिनेछ ।

सबैभन्दा धेरै पोखरा यातायात प्रालिले ३ वटा रुटमा ३ वटाका दरले ९ वटा सवारीसाधन मार्फत सेवा दिनेछ । पोखरा यातायात प्रालिले लामाचौर, बगर, महेन्द्रपुल, विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा, महेन्द्रपुल, चिप्लेढुंगा हुँदै लेकसाइडसम्म र काहुँखोला पृथ्वीचोक हुँदै हल्लन चोकसम्म सेवा दिनेछ ।

बेगनास पोखरा यातायात प्रालिले दुई वटा रुटमा दुईवटाका दरले ४ वटा सवारी मार्फत सेवा दिनेछ । बेगनास ताल, तालचोक, पृथ्वीचोक हुँदै बागलुङ बसपार्क, र राजाको चौतारा, सातमुहाने, खुदी हुँदै बागलुङ बसपार्कसम्म सेवा दिनेछ ।

  • २६ आश्विन २०८१, शनिबार ०८:५८ प्रकाशित