काठमाडौं ।
बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा भोलिदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।
पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक सडक बीपी राजमार्ग तहसनहस भएको थियो । भोलि बिहान १० बजेदेखि सहजरूपमा गाडी चलाउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए ।
सचिव शर्माको नेतृत्वमा प्राविधिकको टीम फिल्डमै खटिएर काम गरिरहेको छ । बाढीपहिरोले भत्केबिग्रिएको ठाउँमा कल्भर्ट बनाएर, ठाउँठाउँमा खोला डाइभर्सन गरेर तत्काल सवारीसाधन निर्वाध चल्ने गरी सडक मर्मत गरिएको शर्माको भनाइ छ ।
रोशी र सुनकोशीको बाढीले काभ्रेको चौकीडाँडादेखि तल नेपालथोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत् भएको थियो ।
बीपी राजमार्गको नेपालथोक(खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो ।