अझै यी राजमार्गका सडक छन् अवरुद्ध (सूचीसहित)

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

बाढीपहिरोले अवरुद्ध भएका धेरै सडक खण्ड सञ्चालनमा आए पनि अझै केही सडक सञ्चालनमा आउन सकेका छैनन् । काठमाडौं उपत्यकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक नौबिसे–नारायणगढ खुलेको छ । यो खण्डका ठाउँठाउँमा खसेको पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।

वीपी राजमार्गको भकुन्डेबेसी–नेपालथोक सडक खण्ड खुलेको छैन । यो खण्डको विभिन्न ठाउँमा करिब दुई किलोमिटर सडक भत्किएको छ । बर्दिबास–नेपालथोक खण्डमा भने यातायात खुलेको छ । धुलिखेलबाट–भकुन्डेबेसीतर्फ २१ किलोमिटर सडक खुलेको छ । भकुन्डेबेसी–नेपालथोक खण्डमा भने सडक खुल्न केही समय लाग्ने सडक विभागले जनाएको छ ।

यस्तै कान्ति लोकपथ अन्तर्गत हेटौँडा–काठमाण्डौ सडक खुल्न पनि समय लाग्ने भएको छ । दक्षिणकाली–सिस्नेरी, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध छ । धनकुटाको राँके भेडेटार सडक पनि खुलेको छैन । मध्यपहाडी लोकमार्ग सुनामवेशी, अकरेभिर, बाह्रबीसे–तातोपानी, रामेछाप–सिन्धुली–खुर्कोट अवरुद्ध रहेका प्रहरीले जनाएको छ ।

सरकारले पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ ।

  • १६ आश्विन २०८१, बुधबार १०:५५ प्रकाशित