सहकारी ठगी मुद्दामा देवकुमार नेपालीको बयान सुरु

केन्द्रभाग मिडिया

बागलुङ ।

सहकारी ठगी मुद्दाका आरोपी तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ । सोमबार बिहान ११ बजे अदालत लगेपछि पौने १२ बजे मात्र अदालतमा बयानका लागि बोलाइएको थियो ।

अहिले नेपालीको बयान भइरहेको स्रेस्तेदार शिवहरि सुवेदीले बताए । बयान सकिएपछि उनलाई इजलासमा पेस गरिने छ । गत शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई आइतबार राति मात्र बागलुङ पुर्‍याइएको हो । नेपालीलाई आइतबार जिल्ला प्रहरीको हिरासतमा राखिएको थियो ।

२०८० वैशाख ७ गते तरलता अभाव देखाएर सहकारी बन्द भएपछि जेठ ४ गतेदेखि नेपाली बेपत्ता थिए । उनीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो । नेपाली ढोरपाटन नगरपालिकाको प्रमुखसमेत हुन् । उनले एमालेको तर्फबाट दुई पटकसम्म निर्वाचन जितेर प्रमुख बनेका थिए ।

  • १४ आश्विन २०८१, सोमबार १६:३९ प्रकाशित