बडादशैंको अवसरमा विन्ध्यबासिनीमा नवदुर्गा महोत्सव

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सव आयोजना हुने भएको छ । नेपालीहरुको महान चाँड बडादशैंको अवसरमा विगतमा झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको हो ।

विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज १७ गते घटस्थापनाको दिनदेखि असोज २५ गते महानवमीसम्म नवरात्री विशेष कार्यक्रम हुने विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

दशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन असोज १७ गते घटस्थापनाको दिन नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्या, आरुढ नौरथ, विन्ध्यबासिनी मन्दिरको झाँकी तथा विभिन्न जातिका वेशभुषा र सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालेर जातीय, धार्मिक, सांस्कृतिक, सामाजिकलगायतका पक्षहरुको उजागर गरिने समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

घटनास्थापनाको दिन विहान ७ बजे विन्ध्यवासिनी पार्कबाट शुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोलहुँदै पुनः विन्ध्यबासिनी मन्दिर प्राङ्गण पुगेर समापन हुनेछ । मन्दिरमा सोहि दिनदेखि श्रीमददेवी भागवत ज्ञान महायज्ञसमेत प्रारम्भ हुने सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

महायज्ञमा महानवमीसम्म हरेक दिन संगीतमय झाँकीसहित श्रीमददेवी भागवतको कथासमेत प्रस्तुत गरिने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार श्रीमददेवी भागवतको कथा पूर्वाह्न ९ बजेबाट मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेबाट अपराह्न ४ बजेसम्म कथा प्रवचन हुनेछ ।

मन्दिरमा विजया दशमीको नित्य पुजा विहान ४ बजेबाट प्रारम्भ हुनेछ भने ५ बजेबाट दर्शनार्थीका लागि मन्दिर खुल्ला गरिने समितिले जनाएको छ । साँझ ६ बजे भने आरती हुने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार विहान ५ बजेबाट पूर्वाह्न ९ बजेसम्म भजनकिर्तनसमेत हुनेछ ।

  • १४ आश्विन २०८१, सोमबार १५:५० प्रकाशित