बीपी राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भएपछि जाममा परेको एम्बुलेन्सका दुई बिरामीको ज्यान गएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जास्थित टुपी डाँडामा बिरामी ल्याउँदै गरेको दुईवटा एम्बुलेन्समा सवार दुई बिरामीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी गोविन्द काफ्लेले शुक्रबारदेखि रोकिएका एम्बुलेन्सका बिरामीको आइतबार बिहान ९ बजे निधन भएको जानकारी दिए।
बा २१ च ७५२३ नम्बर र ग १ च १७०८ नम्बरको एम्बुलेन्समा सवार सिन्धुली कमलामाइ नगरपालिका–४ का मल्ल गाउँबस्ने ९४ वर्षीय टिकाकुमार भुजेल र महोत्तरी बर्दिवास नगरपालिका–८ का ४७ वर्षीय मानबहादुर सुन्जालीको ज्यान गएको हो।
उनीहरूलाई थप उपचारका लागि काठमाडौँ लैजादै गर्दा गएको पहिरोका कारण जाममा फसेका थिए।अहिले बाटोमा रोकिएका दुवै एम्बुलेन्सलाई त्यहाँबाट निकालेर खुकोर्टतर्फ फर्काइसकिएको एसपी काफ्ले बताए।














