काठमाडौं उपत्यकाबाट साढे सात सयभन्दा बढीको उद्धार

केन्द्रभाग मिडिया

काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि गृहमन्त्री लेखकले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकाबाट साढे सात सयभन्दा बढी नागरिकको सकुशल उद्धार गरिएको जानकारी दिए ।

‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।’ गृहमन्त्री लेखकले भने,‘मुलुकमा ठूलो विपद्को स्थिति आएको छ ।’ उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए ।

वर्षाका कारण काठमाडौं सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए । ‘विपदबाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ ’ उनले भने, ‘ बाढी, पहिरो लगायत विप्द सम्बन्धी पूर्व सूचना जारी गर्ने काम पनि हुँदै आएको छ ।’

उनले अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने बताए । ‘खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्धारमा समेत समस्या भने ।’ उनले भने, ‘ स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार, सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्दार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ ।’

  • १२ आश्विन २०८१, शनिबार १३:४८ प्रकाशित