नेकपा एसका नेताको कार्यविभाजनमा जुटेन सहमति

केन्द्रभाग मिडिया

file photo

काठमाडौँ ।

नेकपा – एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार करिब ३ घण्टा बसेको कार्यदल बैठकमा कार्य विभाजनबारे सामान्य छलफल भए पनि कुनै निर्णय नभएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।

प्रचार विभागका पूर्वसदस्य धनराज वास्तविकले बिहीबारको बैठकमा सामान्य छलफल मात्र भएको बताए । उनले निरन्तर बैठक बस्ने गरी नेताहरू उठेको जानकारी दिए

बिहीबारको बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीभित्रको असन्तुष्टि, महाधिवेशनको समीक्षा र पार्टीभित्रका कमीकमजोरीका बारेमा छलफल गर्नुपर्ने भन्दै लिखित प्रस्ताव राखेको एक नेताले जानकारी दिए ।

‘जेएन कमरेडले पार्टीको समग्र समीक्षा गर्नुपर्ने र असन्तुष्टि हटाएर मात्र अघि बढ्न सकिने आशयको लिखित प्रस्ताव राख्नुभएको छ’, ती नेताको भनाइ छ ।

अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल रहेका छन् ।

असारमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनपछि विभिन्न विभाग प्रमुख र उपप्रमुख, जिल्ला तथा प्रदेश इन्चार्ज र सहइन्चार्ज, आयोग प्रमुख र उपप्रमुखका साथै जनसङ्गठन इन्चार्ज तोक्नुपर्ने भए पनि सहमति नजुट्दा ढिलाइ भएको छ ।

  • १० आश्विन २०८१, बिहीबार १५:३८ प्रकाशित