फेवातालमा १६ हजार भुरा माछा छाडियो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको फेवातालमा माछाका भुरा छाडिएको छ। स्थानीयको आयआर्जनमा सघाउ पु¥याउदै फेवातालको प्राकृतिक सन्तुलन बढाउनका लागि पोखरा महानगरपालिका–१८ को वडा स्तरीय बजेटबाट तालमा १६ हजार माछाका भुरा छाडिएको हो । मंगलबार पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले सिल्भर काप र विगहेड जातका माछाका भुरा तालमा छाडेकी हुन ।

उनले सो कार्यक्रममा फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै ब्राण्डिङ गर्नु पर्ने बताइन ।फेवातालको माछा संरक्षण र ब्राण्डिङ गर्न सके तालमा आश्रित जलारी समुदायको जीवन आर्थिक रूपमा सबल हुने बताइन् ।

प्रमुख गुरुङले पोखरा क्षेत्रमा उत्पादित जेठो बुढो धानलाई प्याकेज गरेर प्रवर्द्धन गर्ने काममा महानगर लागेको बताउँदै फेवातालमा धेरै माछा उत्पादन गरेर विक्री गर्ने वातावरण बनाउन समेत तयार रहेको बताइन् । उनले फेवातालको माछा पालनलाई आधुनिकीकरण गर्दै व्यावसायिक रुपमा उत्पादन गर्नु पर्ने आवश्यकता औँल्याइन् ।

प्रमुख गुरुङले फेवाताल किनारमा बसेका जलारी समुदायलाई एकीकृत बस्ती निर्माण गर्ने योजना महानगरको रहेको बताइन् ।

  • २९ मंसिर २०७८, बुधबार ०९:२२ प्रकाशित