जनमोर्चाले राजधानी केन्द्रित आन्दोलन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ। असोज ४ र ५ गते जनमोर्चाको परिषद्को ऐतिहासिक दोस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

चित्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले १७ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । ‘राष्ट्रिय जनमोर्चाले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ । यो आन्दोलन राष्ट्रिय जनमोर्चाको मात्र नभएर नेपालको सम्पूर्ण जनताको आन्दोलन हो । यदि सङ्घीयता खारेज नभएमा मुलुक झन्पछि झन् विदेशी ऋणको मारमा पर्ने छ ’ विज्ञप्तिमा भनिएको छ ‘सङ्घीयताबाट देशको सार्वभौमसत्ता र राष्ट्रियतामाथि खतरा उत्पन्न हुने भएकोले यो आन्दोलन मुलुकलाई माया गर्ने सम्पूर्ण देशभक्तहरूको आन्दोलन हो । ’

बुटवलमा सम्पन्न बैठकले नेपाली काँग्रेस र एमालेले अगाडि सारेको संविधान संशोधनको विषयलाई राजा तथा राजावादी शक्तिहरूले राजतन्त्रको पुनर्स्थापनाका लागि प्रयोग गर्न सक्ने खतरा रहेको दाबी गरिएको छ ।

परिषद्को बैठकले जनआन्दोलन दिवस अर्थात् चैत्र २४ गतेको अवसर पारेर सङ्घीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको हो ।

  • ६ आश्विन २०८१, आईतवार १६:३७ प्रकाशित