आज गण्डकीसहित यी तीन प्रदेशमा भारी वर्षा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । कोसी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा आज दिउँसो भारी वर्षाको पनि सम्भावना छ ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

  • ५ आश्विन २०८१, शनिबार ०७:३८ प्रकाशित