देश नबन्नुको मुल कारक व्यक्तिवाद र भ्रष्टाचारी प्रवृत्ति हो : माधव नेपाल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक अस्थिरताका कारण नभई व्यक्तिवाद र भ्रष्टाचारका कारण मुलुक अघि बढ्न नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा भएको सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बहुमत र दुई तिहाइ मत जनताले दिए पनि स्थिर सरकार बन्न नसकेको उदाहरण दिँदै कुशासन र व्यक्तिवादका कारण समस्या भइरहेको बताए ।

‘राजनीतिक अस्थिरता मूल कारक होइन । भ्रष्टाचार, कुशासन र व्यक्तिवाद नै नेपालको राजनीतिको र शासन सञ्चालनको मुलकारण बनेको छ’, अध्यक्ष नेपालले भने, ‘जबसम्म भ्रष्टाचार र व्यक्तिवाद समाप्त हुँदैन तबसम्म कुराले केही हुनेवाला छैन ।’

उनले नेताहरूमा देश बनाउने हुटहुटी चाहिने भन्दै त्यो हुँटहुँटी नभएमा हावादारी योजनाले मात्र केही प्रगति नहुने बताए । उनले सत्तामा जाने र जिम्मेवारी नलिने प्रवृत्ति राजनीतिक पार्टीका नेता कार्यकर्तामा रहेको भन्दै नेता कार्यकर्ताहरू पैसा कमाउन र भ्रष्टाचार गर्न नभई जनताको सेवामा समर्पित हुनुपर्ने बताए ।

  • ४ आश्विन २०८१, शुक्रबार १५:४८ प्रकाशित