प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसङ्घबाट पारित

नेपालसहित ४३ देश तटस्थ

केन्द्रभाग मिडिया

एक वर्षभित्र पूर्वी जेरुसलेमसहित प्यालेस्टिनी भूभागमा इजरायलको अवैधानिक उपस्थिति अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएको छ ।

यसका लागि भएको मतदानमा नेपाल भने सहभागी नभई तटस्थ बसेको छ । प्यालेस्टाइनले दर्ता गरेको प्रस्तावको पक्षमा १ सय २४ देश र विपक्षमा अमेरिकासहित १४ देश उभिएका छन् ।

नेपालसहित ४३ देश तटस्थ बसेका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । नेपालले इजरायल र प्यालेस्टाइन दुवै देशलाई मान्यता दिएर समस्या समाधानमा जोड दिँदै आएको छ ।

राष्ट्रसङ्घीय महासभाबाट पारित प्रस्तावहरू बाध्यकारी हुँदैनन् । तर ती प्रस्तावमा १ सय ९३ राष्ट्रको धारणा प्रतिबिम्बित हुने हुँदा तिनलाई साङ्केतिक र राजनीतिक दृष्टिबाट अर्थपूर्ण मानिन्छ ।

गएको जुलाईमा राष्ट्रसङ्घको सबैभन्दा ठूलो न्यायालयले अन्तराष्ट्रिय कानुन उल्लङ्घन गर्दै इजरायलले वेस्ट ब्याङ्क, पूर्वी जेरुसलेम र गाजा नियन्त्रणमा लिएको बताएपछि प्रस्ताव पेश भएको हो । गएको वर्ष अक्टुबर ७ मा प्यालेस्टिनी भूमिबाट इजरायलमा प्रवेश गरेका हमासका लडाकुहरुले आक्रमण गर्दा १ हजार २ सय जनाको ज्यान गएको थियो ।

यही आक्रमणको बदला लिन भन्दै इजरायलले प्यालेस्टिनी भूमिमा आक्रमण गर्दा ४ हजार १ सय भन्दा धेरै जनाको ज्यान गइसकेको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लाखौँ व्यक्ति विस्थापित भएका छन् । भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।

  • ४ आश्विन २०८१, शुक्रबार १०:३० प्रकाशित