नाट्टा गण्डकीद्वारा व्यवसायीलाई कर तथा लेखा तालिम

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशमा नाट्टामा आवद्ध गण्डकी प्रदेशका व्यवसायीलाई कर तथा लेखा तालिम दिइएको छ ।

नाट्टा गण्डकी प्रदेशको आयोजनामा ८० जना व्यवसायीलाई तालिम दिइएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालले जानकारी दिए ।
व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन कर तथा लेखा बारे जानकारी अपरिहार्य हुने अवस्थालाई दृष्टिगत गरी तालिम दिइएको बताउँदै उनले यसले कर तथा लेखा सम्बन्धमा व्यवसायीलाई महत्वपूर्ण जानकारीहरू प्राप्त भएको विश्वास व्यक्त गरे ।

पर्यटन राजधानी पोखरा सहित समग्र देशको पर्यटन राष्ट्रको समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै अध्यक्ष दहालले राज्यको व्यवसायीमैत्री नीति आवश्यक हुनेमा जोड दिए ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले व्यवसायलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन यस किसिमका तालिम आवश्यक हुने बताउँदै यस्ता तालिमहरूले निरन्तरता पाउनुपर्ने बताए ।

पर्यटनसम्बद्ध संघ संस्थाको सामुहिक प्रयासमा पोखराको पर्यटनलाई गतिशिल बनाउन सकिने उल्लेख गर्दै उनले परिषद् सम्बद्ध सबैसँग हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

तालिममा आन्तरिक राजस्व कार्यालयका बरिष्ठ कर अधिकृत ठाकुरप्रसाद सुवेदीले कर तथा लेखा सम्बन्धमा तालिम दिएका थिए ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालको अध्यक्षता एवम् महासचिव चेतन कार्कीले सञ्चालन गरेकोे कार्यक्रममा स्वागत कार्यक्रम संयोजक एवम् सचिव नवराज भण्डारी र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष संगीता पौडेलले गरेकी थिइन् ।

कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष पशुपति शर्मा, निवर्तमान अध्यक्ष हरिराम अधिकारी लगायतले व्यवसायिक दक्षता अभिबृद्धिका लागि यस किसिमका तालिम आवश्यक हुनेमा जोड दिए ।

  • ३ आश्विन २०८१, बिहीबार १६:२८ प्रकाशित