सामुदायिक वन समृद्धिको आधार–मन्त्री वस्याल

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालले सामुदायिक वन समृद्धिको आधार बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्धारा पोखरामा आयोजित वदलिदो परिस्थितिमा सामुदायिक वनको भुमिका बिषयक कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै बस्यालले सो कुरा बताएका हुन ।

सामुदायिक वनको हक, अधिकार सुनिश्चित गर्दै प्राकृतिक श्रोतलाई उपयोग गर्ने खालको नीति निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै उनले वनलाई पर्यापर्यटनसंग जोड्नु पर्ने आवश्यकता औल्याए । सम्भाव्यता अध्ययनका आधारमा गुरुयोजना वनाएर वनलाई रोगजारसंग जोड्नु पर्नेमा जोड दिंदै उनले त्यसका लागि सरकार, वन महासंघ र निजी क्षेत्रको समन्वय र सहकार्य अपरिहार्य भएको बताए ।

गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सामुदायिक वनलाई स्थानीय सरकारको जिम्ममा दिन संघ र प्रदेशसंग माग गरे । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन समाजवादको प्रवेश विन्दु भएको बताउँदै प्राकृतिक श्रोतको उपयोगका लागि तीनै तहका सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

वन कार्यालय भएको स्थानमै वन मासिएको र तस्करले सुरक्षा पाउँदा उपभोक्ताले मुद्दा खेप्नु अवस्थाको अन्त्य भएको बताउँदै अध्यक्ष भण्डारीले वनको संरक्षण, सम्वद्र्धन र विकासको जिम्मा स्थानीय समुदायलाई प्रदान गरेसंगै नेपालको सामुदायिक वनको अवधारणा विश्वसामु परिचित भएको बताए ।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काप्लेले वन समुहको वर्गीकरण गरेर आर्थिक रुपमा सम्पन्न वनले कमजोरलाई आवश्यक सहयोग गर्नुपर्ने विचार व्यक्त गर्दै वन पैदावार उपयोगमा कुनै समस्या नभएको स्पष्ट पारे । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष किशोर सापकोटा, महासचिव आसु विकले सामुदायिक वनको अवधारणाले वातावरणीय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।

महासंघका प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरु, जिल्ला अध्यक्ष र सञ्चारकर्मी सहित ५४ जनाको सहभागिता रहेको कार्यक्रममा सोमत घिमिरेले प्रशिक्षण दिएका थिए ।

  • २ आश्विन २०८१, बुधबार २१:०९ प्रकाशित