लोसपा महाधिवेशनको तयारी तीव्र

केन्द्रभाग मिडिया

काठमाडौँ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले महाधिवेशनको मिति तय गरेपछि त्यसको तयारीमा तीव्रता दिएको छ । महाधिवेशन अघि पार्टीको सम्पूर्ण साङ्गठनिक संरचना बनाउने विषयमा पार्टीमा निरन्तर छलफल भइरहेको छ ।

बुधवार पार्टीका शीर्ष नेताहरूको बैठक बसेर निर्धारित महाधिवेशनलाई व्यवस्थित बनाउन पालिकादेखि प्रदेशसम्मको साङ्गठनिक संरचना एवं अधिवेशनको बारेमा छलफल भएको सो पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले बताए ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा बसेको बैठकमा महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीका सबै संरचना निर्माण गर्ने विषयमा छलफल भएको उनले बताए । ‘तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रदेखि पालिका तहसम्मको सम्पूर्ण संरचना बनाउने, अधिवेशन गराउने अध्यक्ष ठाकुरबाट निर्देश भए अनुसार सबै कामहरू अगाडि बढेको छ’ उनले भने ।

पार्टीका महन्थ ठाकुरको नेतृत्वमा एक ढिक्का भएर महाधिवेशन सम्पन्न गराउने लक्ष्यसहित पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता त्यसको तयारीमा जुटसकेको समेत उनले बताए । लोसपाको २०८२ वैशाख २६ गते महाधिवेशन गर्ने मिति तय भएको छ ।

  • २ आश्विन २०८१, बुधबार १६:१८ प्रकाशित