स्याङ्जा ।
काठमाडौंका नेवार समुदायले गर्दै आएको कुमारी पूजाको प्रचलन स्याङ्जामा पनि शुरु गरिएको छ ।
स्याङ्जाका नेवार समुदायले कुमारी पूजा गर्ने प्रचलन अहिले सम्म गरेका थिएनन् । यो बर्षदेखी अब स्याङ्जा सदरमुकाममा नेवार समुदायले जिवित कुमारी पूजा गर्ने प्रचलनलाई शुरु गरेका हुन् ।
नेवार समुदायमा गरिदै आएको कुमारी पूजाको किवंदन्ती निकै लामो छ । धर्म र संस्कारलाई जर्गेना गर्ने उदेश्य सहित हरेक बर्षको हरितालिका तीजमा कुमारी पूजा गर्ने प्रचलन अगाडी बढाइएको नेवारी धर्मद्धार नाँच समितिका अध्यक्ष युगनारायण श्रेष्ठले बताए ।
स्याङ्जाका विभिन्न क्षेत्रमा छरिएर रहेका नेवार समुदायले आफ्नो परम्परा अनुसार लाखे नाँच सहित गाईजात्रा देखाउदै आएका थिए । तर कुमारी पूजाको प्रचलन भने नेवार समुदायले गरेका थिएनन् ।
आफन्तहरुको निधन भएको सम्झनामा पितृहरुको गाई बनाई जात्रा देखाउने प्रचलन रहिआएकोमा यो बर्षदेखी अब हरेक बर्षको हरितालिका तीजमा कुमारी पूजा गर्ने प्रचलन ल्याइएको अध्यक्ष श्रेष्ठले बताए ।
जनैपुर्णिमा बाट शुरु हुने लाखे नाँच हरितालिका तीजमा आएर सकिन्छ । जनै पुर्णिमाको दिन देखी लाखेहरु बजार सगै नेवार समुदाय बस्ने स्थानमा छाड्ने र हरितालिका तीजमा लाखे भित्राउनुपर्ने प्रचलन भएपनि अहिले सम्म लाखे भित्राउने काम नगरिएको बताइएको छ ।
लाखे भित्राउन कुमारी पूजा गर्नुपर्ने नेवार समुदायको प्रचलन अनुसार यो बर्षदेखी शुरु गरिएको हो । लाखेहरु छाडिदिदा भुतप्रेतहरु लखेटिने विश्वास नेवार समुदायले लिदै आएका छन् ।
नेवार समुदायकै परिवारभित्र ५ बर्षदेखी ९ बर्ष भित्रका छोरीहरुलाई कुमारीमा छनोट गर्ने विधि र प्रक्रिया रहेको छ । महिनावारी नहुनु अगाडीका छोरीहरुलाई कुमारी पूजामा छनोट हुनेछन् ।
कुमारी छनोटमा जन्मदा दाग लागेको नलागेको, घाउचोट नलागेको र ३२ लक्ष्यणले युक्तलाई कुमारीमा छनोट गरिनेछ । कुमारीमा छनोट भएकी छोरीले भुइमा टेक्न र छुन नहुने परम्परा छ ।
रातो पहिरन र रातो रङ्गमा कुमारीलाई सजाएर दर्शन गर्ने, पूजा गर्ने गरिन्छ । रातो रङ्गलाई देवीको प्रतिक र हिन्दु धर्मको शक्तिका रुपमा मानिने हुँदा कुमारीलाई रातो रङ्गमा सजाइने स्थानीय लालप्रसाद श्रेष्ठले बताए ।
अब हरेक बर्ष जनै पुर्णिमाका दिन छाडिएका लाखेहरुलाई हरितालिका तीजको दिन कुमारी पूजा सगै मन्दिरमा भित्राउने प्रचलन ल्याइएको अध्यक्ष श्रेष्ठले बताए ।
स्याङ्जा सदरमुकाम पुतलीबजार स्थित भिमसेन मन्दिरमा आगामी दिनदेखी लाखे भित्राई त्यो बर्षको लाखेनाँच र गाइजात्रा सम्पन्न हुने श्रेष्ठको भनाई छ ।
जनै पुर्णिमा बाट आफ्ना पितृहरुको सम्झनामा शुरु हुने लाखेजात्रा, गाईजात्रा, रोपाईजात्रा, तायमाचा जात्रा, छोकडा (सलामी) जात्रा, घोडेजात्रा, जोगी जात्रा, बाघ जात्रा र कृष्ण रथयात्रा प्रदर्शन गर्ने परम्परा छ । घोडेजात्रा भने केही समयदेखी कम हुदै आएको बताइएको छ ।
पुतलीबजारमा शुरु गरिएको कुमारी पूजालाई अब स्याङ्जाका नेवार समुदायको साझा पूजा मानेर यो पर्व मनाउने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले बताए । यो पूजा निकै खर्चिलो र झन्झटिलो भएकाले यो पूजालाई दिगो बनाउन स्थानीय सरकारको साथ र सहयोग रहनुपर्ने श्रेष्ठले बताए ।
यो परम्पराले स्याङ्जा सदरमुकाममा पर्यटकहरुको आगमन हुनेहुँदा यो पूजालाई सबैले सहयोग गर्न समेत आग्रह गरेका छन् ।