दोधारा ।
कञ्चनपुरमा लगातारको वर्षापछि नदीमा जलस्तर खतराको तह पार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा बाढीको जोखिम उच्च रहेको छ ।
उनका अनुसार दोदा नदीको बाढीका कारण विस्थापित भएका ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । ‘भीमदत्त नगरपालिका–१२ स्थित रहेको भुजेला खोलालाई महाकाली नदीले समस्या बनाएको छ, बस्ती डुबानमा छन ।’
प्रहरी निरीक्षक थापाले भने,’दोदा नदी, जोगबुढा नदी र महाकाली नदीमा पनि पानीको बहाव उच्च छ ।’ उनका अनुसार दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदी पनि महाकाली नदीले समस्या बनाएको अवस्था छ । यसका कारण बस्ती डुबानमा परेका छन् भने एकरदुई परिवार विस्थापित भएका छन् ।
त्यसैगरि लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब बढेको छ । पानीको बहाब बढेपछि शुक्रबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाब तीन लाख ५१ हजार क्युसेक पुगेको छ । शारदा ब्यारेजको पुल जीर्ण भएको भन्दै पानीको बहाव एक लाख क्युसेक नाघ्ने वित्तिकै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।