महोत्तरी ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् ।
महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले पार्टीले लिएको एजेण्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण देखिएको बताएका हुन् ।
‘पहिचानका पक्षमा लड्ने पार्टीको रूपमा माओवादी केन्द्र स्थापित भएकै छ, थप सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हाम्रो पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण अहिले देशैभरि फेरि एकपटक माओवादी केन्द्रप्रति आकर्षणको लहर पैदा भएको छ,’ उनले भने, ‘त्यसैको सानो प्रमाणको रूपमा यो पार्टी प्रवेश कार्यक्रमलाई मैले लिएको छु ।’
राजनीतिक हिसाबले अहिले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको र आफ्नो पार्टी सरकारमा जाँदा हरेकपटक नयाँ नयाँ काम गरेकाले अन्य पार्टीभन्दा माओवादी केन्द्र नै अब्बल रहेको उनको भनाई थियो । ‘जनयुद्ध र जनआन्दोलनको जगमा भएको राजनीतिक परिवर्तन, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माण, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था लगायत सबै आजका एजेण्डा माओवादीले नै अघि सारेका एजेण्डा हुन्’– अध्यक्ष प्रचण्डले भने– ‘हामी जतिपटक सरकारमा गएका छौँ, नयाँ नयाँ काम गरेका छौँ ।’
जनतासँग जोडिएको पूर्वाधार निर्माणका हिसाबले पनि मध्यपहाडी लोकमार्गको थालनीदेखि लोडसेडिङमुक्त नेपाल, गाउँगाउँमा सूचना सञ्चारको विकास हुँदै पछिल्लो समय सुशासन र सामाजिक न्यायका पक्षमा चालेका कदम ऐतिहासिक रहेको उनले स्पष्ट पारे । भ्रष्टाचारका फाइल खोलेर कारबाही प्रक्रिया थाल्नेदेखि मधेशलगायत देशैभरिको ठुलो समस्याको रूपमा रहेको मिटरब्याजको समस्या समाधान र लाखौँ नागरिकताविहीन युवालाई नागरिकताका लागि कानुनी व्यवस्थालगायतका काम ऐतिहासिक उपलब्धि भएको उनले बताए ।
यी एजेण्डा र उपलब्धिसहित अब पार्टीलाई बलियो बनाउँदै देशव्यापी ध्रुवीकरणको दिशामा अघि बढ्ने पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे । सो क्रममा उनले पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरुका लागि ठिक ढंगले समयमै सांगठनिक व्यवस्थापन गर्न प्रदेश इञ्चार्जलगायत स्थानीय नेताहरूलाई निर्देशन दिए ।