जिल्ला समन्वयमा कास्कीमा कार्यालयहरूको वार्षिक समिक्षा

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक वर्ष २०८० (८१ मा सम्पादन भएका कामहरूको दुई दिने वार्षिक समिक्षा कार्यक्रम मंगलबार शुरु भएको छ।

कार्यक्रममा प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले सेवा प्रवाह सहित विकासका योजना थप प्रभावकारी बनाउनेतर्फ ध्यान दिन आग्रह गरे ।
कार्कीले परम्परागत भन्दा उत्पादनमुखी प्रतिफल दिने कार्यक्रममा जोड दिन आग्रह गरे ।

प्रभावकारी कार्यान्वयनमा विद्यमान कानुनी अप्ठ्यारा निराकरण गर्न सबैको पहल आवश्यक भएको भन्दै कार्कीले उत्कृष्ट प्रयासमा केन्द्रीत हुन अनुरोध गरे । सरकारका तहबिच प्रभावकारी सहकार्य र समन्वयमा जिल्ला समन्वय समितिले कास्कीमा महत्वपूर्ण भुमिका खेलेको भन्दै कार्कीले आवश्यक थप ऎन कानुन निर्माणका लागि प्रदेश सभाबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सभा सदस्य गणेशमान गुरुङले आम जनताको आवश्यकतालाई ध्यान दिदै सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे ।गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले विनियोजित बजेटमा पुजिगत तथा वित्तीय खर्च विवरण न्यून हुनु गम्भीर समस्या भएको भन्दै त्यसतर्फ विकासका नीति तथा योजना केन्द्रीत गर्न आग्रह गरे ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका हरेक कार्यालयहरू उत्कृष्ट हुनु पर्ने भन्दै चालू आर्थिक वर्षका योजना निति कार्यक्रम प्रभावकारी रूपले कार्यान्वयन गर्न आग्रह गरे ।

  • २५ भाद्र २०८१, मंगलवार १७:२१ प्रकाशित