काठमाडौँ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानबिन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानबिन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरेका हुन् ।
उपसभापति गुरुङले आफूमाथि आशङ्का भए तत्काल छानबिन गर्न पनि सरकार र संसद्को ध्यानाकर्षण गराए । उनले भने, ‘संसदीय छानबिन नै गर्नुपर्छ भने पनि म तयार छु । मेरो लागि यो सुवर्ण अवसर हुनेछ । तथापि प्रमाण लुकाउन सक्ने गृहमन्त्री जस्तो जिम्मेवार पदमा म छैन सभामुख महोदय । म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु । मेरा बारे लागेको आरोपको सत्य, तथ्य छानबिन गरिदिन म सम्माननीय सभामुख, माननीय गृहमन्त्रीजी, अनि सम्बद्ध निकायहरूलाई आग्रह गर्दछु । विगतमा पनि कुनै आरोप लाग्दा सम्मानित अदालतबाट निर्दोष साबित भएको स्मरण गराउन चाहन्छु । सहकारी ठगी सम्बन्धी प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयवस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटो भन्दा छिटो छानबिन गर्न माग गर्दछु ।’