पोखरा ।
वडा प्रहरी कार्यालय बैदामले कार्यलयमा विभिन्न फांटमा रहेका काम नलाग्ने कागजातहरु नष्ट गरेको छ । जस अन्तर्गत २०७५ देखि हाल सम्मका २४ वटा पोकामा रहेका ३५ हजार २ सय ६० पाना काजगात नष्ट गरेको हो ।
दैनिक कामकारबाही सम्पन्न भइसकेपछि पनि धेरै वर्ष सम्म स्टोर ओगटिरहेका र कतिपय कागजातहरु किराले खाइ काम नलाग्ने भएको तथा कतिपय सडेगलेका कारण कार्यप्रगतिका लागि अनावश्यक र अन्य काम लाग्ने कागजातलाई समेत असर पार्ने भएकाले उक्त कागजातहरु नष्ट गरिएको हो ।
सरकारी कागजात धुल्याउने नियमहरु २०२७ र प्रहरी प्रधान कार्यालय प्रशासन शाखाको मिति २०५७ असोज १७ गते गरिएको पुराना कागजात धुल्याउने परिपत्र समेतको अधिनमा रहि नियमअनुसार जनप्रतिनिधि, स्थानिय समुदाय, सञ्चारकर्मीको रोहबरमा कागजात धुल्याउने काम गरिएको वडा प्रहरी कार्यालय बैदामका पहरी निरीक्षक कमल पोखरेलले जानकारी दिए ।वडा प्रहरी कार्यालय बैदामका विभिन्न शाखामा रहेका प्रयोगमा नआउने स्टोरमा ठाउँ ओगटेर बसेको र धमिराहरु लाग्ने भएकाले त्यसलाई धुल्याउने काम गरेको वताउदै धुल्याउने काम अन्तर्गत विभिन्न शाखाका २४ वटा पोकामा रहेका ३५ हजार २ सय ६० पाना कागजात नष्ट गरिएको प्रहरी निरीक्षक पोखरेलले बताए ।
२०७५ सालदेखीका दैनिक कामकाजका कागजातहरु लाई नष्ट गरिएको भएतापनि महत्वपूर्ण कागजातहरु भने सुरक्षित राखिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले वताए । निरौलाका अनुसार गत साउन ३१ गते प्रहरी निरीक्षक कमल पोखरेलको संयोजकत्वमा समिति गठन गरी १५ दिन लगाएर कागजातहरु संकलन गरी नष्ट गरिएको हो ।
त्यसैगरी वडा प्रहरी कार्यालय बैदामले विभिन्न समयमा नियन्त्रणमा लिइएका मोटरसाइकलहरुको समेत यातायात कार्यालय संग समन्वय गरी सम्बन्धित धनीलाई बुझाउने तयारी गरेको छ । हाला सम्म यातायाता ब्यवस्था कार्यालय संग समन्वय गरी ७० वटा मोटरसाइकलको धनीको विवरण संकलन गरिसकिएको छ । हाल बैदाममा ८० वटा मोटरसाइकल रहेका छन । नियन्त्रणमा रही लिन नआएका मोटरसाइकलहरुलाई प्रकृया अनुसार सम्बन्धित धनीलाई बुझाइने र लिन नआएको खण्डमा लिलाम बिक्री प्रकृयामा लगिने उनको भनाइ छ ।













