निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

केन्द्रभाग मिडिया

महेन्द्रनगर ।

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान हुने बताएका छन् ।

आज महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । ‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ ।’ उनले भने ।

त्यसैगरि पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रूपमा विकास गर्ने बताए । ‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ।’उनले भने–‘निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीन सँग जोड्छ ।’

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । ‘दुई तीन महिनाभित्रै सुख्खा बन्दरगाह निर्माणका लागि भारतले टेन्डर आह्वान गर्छ ।’ गृहमन्त्री लेखकले भने–‘छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।’ पत्रकार सम्मेलनमा उनले संसदमा भएका दुई ठुला दलहरूबिच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले बताउँदै सहमति कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे । ‘दुई दल बिच सात बुँदे सहमति भएर सरकार निर्माण भएको छ ।” उनले भने–‘यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।’

तीन दिने भ्रमणमा गृह जिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुई वटा प्रहरीका भवन उद्घाटन गरे । त्यसैगरि उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरे ।

  • २० भाद्र २०८१, बिहीबार ११:०९ प्रकाशित