काठमाडौँ ।
वार्षिक कार्ययोजना निर्माण गर्न सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । सचिवालयले प्रस्ताव गरेका वार्षिक कार्ययोजना पोलिटब्युरो बैठकमा छलफल गरेर सुझावसहित पारित गर्ने सो पार्टीले जनाएको छ ।
पोलिटब्युरो बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भदौ १३ गते बसेको केन्द्रीय सचिवालय बैठकले एक वर्षे कार्ययोजना तयार गर्दै छलफलका लागि प्रस्ताव गरेको थियो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रस्तुत कार्ययोजनामामाथि पोलिटब्युरोमा छलफल गरेर नेताहरूलाई जिम्मेवारीसहित देशैभर परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए । प्रस्तावित कार्ययोजनामा सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषय पहिचान मुख्य छन् ।
एमालेले आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको छ । सोही अनुसार पार्टी नेताहरूलाई जनताको घरघरमा पुग्नेगरी सङ्गठन परिचालन गर्ने र उनीहरूका अपेक्षा बुझेर समस्या समाधान गर्ने पहल गर्ने एमालेले जनाएको छ ।
वैचारिक कक्षा सञ्चालनका लागि पार्टी स्कुलले कोर्स तयार गरेको छ ।