एमालेले दुई दलीय व्यवस्थाको वकालत गर्न सक्दैन : सञ्चारमन्त्री गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।

सूचना प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पार्टीले दुई दलीय व्यवस्थाको वकालत गर्न नसक्ने बताएका छन् । शनिबार प्रेस चौतारी गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले उस्तो बताएका हुन् । एमालेका उपमहासचिव समेत रहेका मन्त्री गुरूङले दुई दलीय व्यवस्थाको वकालत गर्ने हो भने जनताको बहुदलीय जनवाद एमालेले छोड्नु पर्ने टिप्पणी गरे ।

जनताको बहुदलीय जनवादले दलहरू बीचको स्वच्छ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने विषयलाई जोड दिएको तर्फ उनले ध्यानाकर्षण गराए । दुई दलीय व्यवस्थाको वकालत गर्नेकूरा पार्टी नीति विपरीत रहेको उनले औंल्याएका छन् । ‘दुई दलीय व्यवस्थाको वकालत गर्ने हो भने पार्टीले जनताको बहुदलीय जनवाद त्याग्नुपर्ने हुन्छ । त्यो सम्भव छैन । कसैले दिएको अभिव्यक्ति पार्टीको आधिकारिक अभिव्यक्ति होइन,’ उनले भने ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय स्थिरताका लागि दुई दलीय व्यवस्थामा जानुपर्ने तर्क अघि सार्दै आएका बेला मन्त्री गुरूङले त्यो धारणा पार्टीको धारणा नरहेको बताएका हुन् ।

मन्त्री गुरूङले कांग्रेस एमाले बीचको साझेदारीमा बनेको सरकार आगामी २०८४ सम्म ढुक्कले जाने उनले दाबी गरे । उनले वर्तमान सरकारले टिआरसी विधेयक पास गरेर ऐतिहासिक काम गरेको उनले व्याख्या गरेका छन् । राम्रो कामको चर्चा नभएका उनले गुनासो समेत गरे । ‘हाम्रो सरकार के कारणले ढल्छ ? सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन । त्यसैले सरकार ढल्ने कुरै छैन ।’

उनले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली मिल्नेबेलासम्म केही नहुने उनको टिप्पणी छ । ‘उनीहरूबीच नै फाटो आउनसक्छ कि ?’ भन्ने प्रश्नमा मन्त्री गुरुङले माओवादीतर्फ संकेत गर्दै ३२ सिटको म्याजिक नम्बरले दुवै नेतालाई ठगेकोले त्यस्तो नहुने दाबी गरे ।

  • १५ भाद्र २०८१, शनिबार १२:२७ प्रकाशित