चितवन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक विकाससँगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने बताएकी छिन । बुधबार भरतपुर २५ स्थिति बयरघारीमा रमाईलो साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्दै उनले भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गरिन ।
खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँकृतिक क्षेत्रमा समान रुपमा अघि बढेको दहालले बताइन । महानगरमा भौतिक विकास उल्लेखीय रुपमा अघि बढिसकेकाले महानगरले अहिले आर्थिक, सामाजिक र साँस्कृतिक पक्षलाई विषेश प्राथमिकता दिएको उनको भनाई छ ।
कलाकेन्द्रको मध्यमबाट संस्कृतिको प्रर्वधन, जर्गेन तथा जागरण ल्याउन सकिने भएकाले यस्ता कार्यहरुले संस्कृतिको संरक्षण हुने प्रमुख दाहाले बताइन । ‘हिजोको दिनमा तीजका सन्दर्भमा दुःख र बेदनाको गीत गाउने परिपाटी थियो, उनले भनिन ,‘अहिले व्यवस्था फेरिएको छ । महिलाहरु अधिकार सम्पन्न भएका छन् । महिलाहरु देशको नेतृत्वदायी भूमिकामा छन्। त्यसैले उत्सहाका गीत गाउनु होस्।’
प्रमुख दाहालले हिजोको समान्तवादी व्यवस्थामा महिलामाथि थिचोमिचो हुने, पुरुषले महिलालाई दमन गरेर घरयासी काममा मात्र लगाउने परिपाटी भएकाले त्यस्ता गीतहरु गाउने गरिएको समेत स्मरण गरिन । देशमा महिलाहरु राष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानन्याधिस, मन्त्री, मेयर,उपमेयर, वडाध्यक्ष भइसकेकाले उत्सहाका गीत गाउदै संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिइन ।
कार्यक्रमका वडा नम्बर २४ का अध्यक्ष रामबहादुर गोदारले भरतपुर २४ र २५ मा दलित र जनजातिको बाहुल्यता रहेकाले यहाँ धेरै प्रतिभाहरु रहेको बताए । कला केन्द्रले नयाँ प्रतिभा जनाएर राष्ट्रिय कलाकार उत्पादनको केन्द्र बन्ने विश्वास समेत ब्यक्त गरे ।
भरतपुर २५ को बयरघारीमा भएको कार्यक्रममा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थियो । कार्यक्रमलाई हेममायाँ फाउण्डेशनका अध्यक्ष हेम थापा र माया थापाले आर्थिक सहयोग गरेका थिए ।













