संविधानअनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन सकेन : गण्डकी मुख्यमन्त्री पाण्डे

केन्द्रभाग मिडिया

संविधान अनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले टिप्पणी गरेका छन् ।

मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पाण्डेले समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवश्यकता र अपेक्षाअनुसार प्रहरीलाई सबै सहयोग गर्न नसकिएको उल्लेख गरे।

समाजमा शान्तिसुरक्षा कायम गर्न र कानुुनी राज्यको अनुभूति दिलाउन नागरिकको पनि महत्वपूर्ण भूमिका हुने पाण्डेको भनाई छ ।

उनले सरकारसँगै नागरिक समाजसँगको सहकार्यमा शान्तिसुरक्षाका प्रभावकारितासँगै कानुनी राज्यको अनुभूति दिलाउन सकिने बताए । भवन निर्माणसँगै धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथ आउने पर्यटक र स्थानीयको शान्तिसुरक्षामा सेवा गर्न प्रहरीलाई सहज हुने उनले विश्वास व्यक्त गरे।

प्रदेशको शान्तिसुरक्षाका लागि सरकारले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उद्धार सामग्री, यन्त्र उपकरण, क्षमता विकासका कार्यक्रममा सीमित साधनस्रोतका बीच प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको उनको भनाइ छ । प्रदेश सरकारको रु तीन करोड ६० लाख लगानीमा निर्माण भएको भवन छ रोपनी चार आना क्षेत्रफलमा रहेको छ ।

  • १२ भाद्र २०८१, बुधबार १७:०० प्रकाशित