पोखरा ।
गण्डकी प्रदेश सरकारमा नेकपा एमाले चार मन्त्रालय लिएर सहभागी हुनेभएको छ । कति सदस्यीय मन्त्रिपरिषद भन्नेमा भने दुबै दलले फरक-फरक दाबी गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले आफ्नो पार्टी सरकारमा चार जना मन्त्रीसहित सहभागी हुने सहमति बनेको बताएका छन् ।
उनले मन्त्रिपरिषदमा सदस्य संख्या भने ९ हुने दाबी गरे । ‘एमाले चार वटा मन्त्रालय लिएर जाने भन्ने विषयमा लगभग सहमति जुटेको सत्य हो,’ उनले भने, ‘तर जम्मा मन्त्रालयको संख्या ९ बनाउनेमा हामीले चार र कांग्रेसको तर्फबाट मुख्यमन्त्री बाहेक ४ भनेका हौं । पछि एमाले संसदीय दलको नेता मुख्यमन्त्री हुँदा पनि कांग्रेस र एमालेको ४–४ नै हुन्छ । मुख्यमन्त्रीलाई हामीले साझा मानेका छौं’
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेले पनि एमाले ४ मन्त्रीसहित सहभागी हुने कुरामा मोटामोटी सहमति जुटेको जानकारी दिए । तर, जम्मा मन्त्रालयको संख्या १० बनाउने र कांग्रेसबाट मुख्यमन्त्री बाहेक ५ मन्त्री रहने सहमति भएको उनको दाबी छ । त्यसलाई अन्तिमरुप दिन भने बाँकी रहेको उनले सुनाए ।
आफू अहिले गृह जिल्ला गोरखा रहेकाले पछिल्लो समय कुनै नयाँ सहमति भएको भए आफूलाई जानकारी नभएको नत्र मन्त्रालयको संख्या १० बनाउने र कांग्रेसको तर्फबाट मुख्यमन्त्री बाहेक ५ मन्त्री र एमालेबाट ४ मन्त्री सहरकारमा सहभागी हुने विषयमा मोटामोटी सहमति भएको उनले सुनाए ।
‘म अहिले गृह जिल्लामा छु । मुख्यमन्त्रीसहित मन्त्रालयको संख्या १० बनाउने, त्यसमा मुख्यमन्त्री बाहेक कांग्रेसबाट ५ र एमालेबाट ४ जना सरकारमा सहभागी हुने भन्ने मोटामोटी सहमति हो । म यता आएपछि अरु सहमति भएको भए जानकारी भएन यस विषयमा मुख्यमन्त्री ज्युसंग नै बुझ्नुपर्ने होला’ उनले भने ।