मुग्लिन-आँबुखैरेनी सडकखण्ड चार घण्टा बन्द

केन्द्रभाग मिडिया

तनहुँ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ ।

आँबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि आज सोमबार बिहान ६ः३० देखि चार घण्टा उक्त सडक अवरुद्ध हुन लागेको हो ।

राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिए पनि दश मिटर मात्रै तानिएको उनको भनाइ छ । उनले भने, ‘सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घण्टा सवारी आवागमन रोकिनेछ ।’

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • १० भाद्र २०८१, सोमबार ०८:५६ प्रकाशित