तनहुँ बस दुर्घटनाः शवको परीक्षण सुरु

केन्द्रभाग मिडिया

चितवन ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।
आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शव परीक्षणपश्चात् भैरहवा हुँदै भारत पठाइने उनले जानकारी दिए ।

सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।

  • ८ भाद्र २०८१, शनिबार १०:१९ प्रकाशित