पोखरा ।
तमु समुदायको पुरानो एवम अग्रणी संस्था तमु धिं नेपाल माछापुच्छ्रे गाउँ पालिका भेलाले दुर्गाबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिती गठन गरेको छ ।संघीय संरचना अनुसार संस्थाको संरचना बिस्तार गर्ने उद्देश्यले आयोजित संस्थागत एवम सामाजिक क्षेत्रका अगुवाहरुको भेलाले आयोजक समितिको सचिवमा प्रचण्डशक्ती गुरुङ, सदस्यहरुमा अनुप गुरुङ, सन्दिका गुरुङ, अमुल प्रसाद गुरुङ , चिज बहादुर गुरुङ, राजु गुरुङ, राकेस गुरुङ, दानबहादुर गुरुङ, बिश्वास गुरुङ र अनिस गुरुङ रहेका छन ।
गठित आयोजक समितिले मंसिर मसान्तभित्र बृहत् कार्यक्रम आयोजना गरि तमु धिं नेपाल माछापुच्छ्रे गाँउपालिका समिती बिधिसम्मत गठन गर्ने निर्णय गरेको छ ।भेलाका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले तमु एकताले सबैको हित हुने बताउदै तमु धिंले संगठन निर्माण र प्रशिक्षण अभियान आफ्नै पालिकाबाट सुरु गरेकोमा खुशी ब्यक्त गरे । गुरुङले आफ्नो र पालिकाको तर्फबाट तमुधिंको अभियानमा साथ रहने प्रतिवद्दता समेत ब्यक्त गरे ।
नवनिर्वाचित संयोजक दुर्गाबहादुर गुरुङले सम्पुर्ण माछापुच्छ्रे गाउँपालिकाका गुरुङहरु संगठित गरि तमुहरुको अधिकार सुनिश्चित गर्न जुट्ने प्रतिवद्दता व्यक्त गरे ।पोखरा २५ याम्दीस्थित रिभान चौर नाथु प्रल्हाद ङेह्रो पैगीलामा समाजघरमा आयोजित कार्यक्रममा नाथु प्रल्हाद ङेह्रो पैगीलामा परिवारका महासचिव यामबहादुर गुरुङले शुभकामना ब्यक्त गरेका थिएभने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, महासचिव जुनाकुमारी गुरुङ र केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले भेलाको उद्देश्य, तमु एकता, सामुदायिक अधिकार, बिधानमा ब्यवस्था लगायतका बारेमा प्रष्ट पारेका थिए ।
तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हरिमाया गुरुङले स्वागत, महासचिव जुना गुरुङले कार्यक्रम संचालन गरेका थिए ।













