मुग्लिन–नारायणगढ सडकमा भिरबाट खसेको ढुंगाले लाग्दा पोखरा आउँदै गरेको बस पल्टियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा भिरबाट खसेको ढुंगाले लाग्दा यात्रुबहाक बस पल्टिएको छ । भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस पल्टिएको हो ।

रौतहटको गौरबाट पोखरा आउँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १स्५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार बस दुर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन् ।

घाइते हुनेहरूमा बारा निजगढ-८का २६ वर्षीया सबिना थापा, रौतहट चपुर-८ का ४६ वर्षीय जनक नारायण चौधरी र उनका छोरा १८ वर्षीय इनद्रजित चौधरी, रौतहट गौर-२ का १७ वर्षीया सन्ध्या साह, चितवन भरतपुर महानगर-२९ बस्‍ने २७ वर्षीया पूजा न्यौपाने, भरतपुर-२९ कै ४८ वर्षीया मनरूपा न्यौपाने र कास्कीको पोखरा महानगर-१७ का ४० वर्षीया सावित्री थापा मगर रहेका छन् । उनीहरूको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै रौतहट कटहरिया-१ का २५ वर्षीय सिनोज दास, रौतहट मंगलपुर-८ का २० वर्षीय लालबाबु दास, रौतहटकै वृन्दावन-६का २२ वर्षीय विक्रम दास, बसका सहचालक बारा निजगढ-५ का ४३ वर्षीय अर्जुन चौलागाइ, रौतहट गरूडा-४का २० वर्षीय पवन साह र गरूडा-७ बस्‍ने १५ वर्षीय अनोस साह, बाराको जितपुर सिमरा-१ का २४ वर्षीया उन्नती उपाध्‍याय र उनका श्रीमान अनदीप धिमाल रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी रौतहटको गढीमाई-६का ४८ वर्षीय शैलेन्द्र यादव, शैलेन्द्र यादवकी १८ वर्षीय छोरी अर्चना यादव, रौतहटको वृन्दावन- ६ बस्‍ने २२ वर्षीय दिनानाथ दास, रौतहटको परोहा-७ बस्‍ने ३४ वर्षीय मो।खैयाज, , रौतहटको वृन्दावन-६ बस्‍ने १७ वर्षीय नौराज कुमार साह, रौतहटको गौर-५ बस्‍ने ५० वर्षीय नबिन कुमार केसरी, रौतहटको वृन्दावन-६ बस्‍ने १८ वर्षिय अजय कुमार दास, रौतहटको गौर-९का २१ वर्षीया ढली ठाकुर र उनकी बहिना २० वर्षीया दिव्या ठाकुर सामान्य घाइते भएकी छिन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ। ढुंगा लागेर बसमा क्षति पुगेको छ।

  • ७ भाद्र २०८१, शुक्रबार १६:३१ प्रकाशित