तडकभडक गरी तीज मनाए कारबाही गर्ने कास्की प्रशासनको चेतावनी

केन्द्रभाग मिडिया

पोखरा ।

यसपाली तडकभडक गरी तीज मनाए कारबाही गर्ने जिल्ला प्रशासन कास्कीले चेतावनी दिएको छ ।

होटेल र पार्टी प्यालेसहरूमा भड्किलो रूपमा तीज मनाउन थालेपछि कास्की प्रशासनले सूक्ष्म निगरानी सुरु गरेको छ । प्रशासनले बिहीबार विज्ञप्ति निकालेर भड्किलो रूपमा होटेल र पार्टी प्यालेसमा अबेरसम्म तडकभडक गरे कारबाही गर्ने बताएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले तीजको मौलिकतामाथि आँच आउने र खर्चिलो तथा तडकभडकका साथ तीज मनाए कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खर्चिला तथा सामाजिक सद्भावमा असर पु(याउने खालको भड्किला कार्यक्रम तथा क्रियाकलाप नगर्न, नगराउनु हुन सम्पूर्ण जिल्लावासीमा अनुरोध गरिएको छ’ प्रशासनको विज्ञप्तीमा भनिएको छ, ‘सूचनाको बर्खिलाप हुने गरी भए गरेका कार्यक्रमहरूको प्रशासनले निगरानी राखी कारबाही गर्नेछ ।’

भड्किलो व्यवहार गर्नेलाई सामाजिक व्यवहार (सुधार) ऐन, तथा नियमावली २०३३ अनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ । हरेक वर्ष केही अभियान्ताहरुले तीजमा भएको तडकभडक रोक्न अभियान समेत चलाउँदै आएका छन् ।

  • ७ भाद्र २०८१, शुक्रबार १४:३४ प्रकाशित